समाचार

भारतीय नम्बरको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पर्सा, १७ मंसिर । पर्सामा भारतीय नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  

आइतबार राती साढे ९ बजे भारतीय नम्बरको गाडीको ठक्करबाट घटनास्थलमै एक युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको हो । 

वीरगन्ज महानगरपालिका वडा नम्बर- १३ सरिसवापुलमा दुईवटा भारतीय नम्बरको गाडीले ठक्कर दिँदा भएको मोटरसाइकल चालक जटाशंकर पटेलको मृत्यु भएको हो ।  प्रदेश २ -०३-००४ प ५५१४ नम्बरको मोटरसाइकलमा सवार पटेल बहुदरमाइ नगरपालिका वडा नम्बर -९ निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।

राती ड्राइपोर्टतर्फबाट दुईवटा भारतीय गाडी आइरहेको थियो, त्यसैमध्ये एउटा गाडीको ठक्करबाट पटेलको  मृत्यु भएको हो ।  अहिलेसम्म कुन गाडीको ठक्करबाट उनको मृत्यु भएको हो ? त्यो यकिन हुन नसकेको प्रहरीले जनाएको छ । 

तर ती दुईवटै गाडीसहित एउटा चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनायो । प्रहरीले ठक्कर दिएको आशङ्कामा एउटा ट्रक र एउटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।