राजनीति

अल्झियो दोधारा चाँदनी सुक्खा बन्दरगाहको काम



कञ्चनपुर, २३ मंसिर । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको काम रूख कटान आदेशमा अल्झिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सुक्खा बन्दरगाहका लागि जग्गाको भोगाधिकार दिने निर्णय गरेको तीन महिनासम्म रूख कटान आदेश नहुँदा काम रोकिएको हो । बन्दरगाह निर्माणस्थलमा पर्ने रूख कटानीको आदेशका लागि इन्टरमोडल यातायात विकास समितिले निरन्तर रूपमा वन मन्त्रालसँग समन्वय गरिरहेको छ । तर कटानी आदेश हुन नसकेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

असोज पहिलो साताको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४३ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेको थियो । उक्त वन क्षेत्रमा पर्ने १७ सय रूख कटान गर्नुपर्ने देखिएको छ । यसको सट्टाभर्ना अन्यत्र ठाउँमा जग्गा दिन सक्ने अवस्था नभएकाले त्यसका लागि १४ करोड रुपैयाँ दिने गरी व्यवस्थापन भइसकेको गजुरेलले बताए ।

सुक्खा बन्दरगाह भारत सरकारले अनुदानमा निर्माण गरिदिने सहमति भएको छ । सोहीअनुसार निर्माण सुरु भएको तीन वर्षभित्र काम सम्पन्न गर्ने भारतीय पक्षले जनाएको गजुरेलले बताए । उनका अनुसार भारतीय पक्षले गरेको प्रारम्भिक अध्ययनअनुसार सुक्खा बन्दरगाह निर्माणका लागि करिब ६ अर्ब खर्च हुने अनुमान गरिएको छ ।