राजनीति

सङ्क्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकता : मन्त्री पौडेल



काठमाडौँ, २५ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । 

आज ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारहरूको पदपूर्ति गर्ने काम गरिरहेको बताए । 

उनले सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगको सुझाव तथा सिफारिस, अन्तर्राष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र शान्ति हासिल गर्ने लक्ष्यहरू अनुरूप सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री रूपमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । 

उनले आयोगको केन्द्रीय, प्रदेश र शाखा कार्यालयहरूको लागि भौतिक तथा आर्थिक श्रोत साधन र अन्य सुधारका निम्ति आवश्यक पर्ने बजेट विनियोजनको व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै लैजाने बताए ।