काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय हस्ताक्षर गरिएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सरकारले मंगलबार सार्वजनिक गरेको छ । बेइजिङमा हस्ताक्षर भएको छैटौं दिन सरकारले सहकार्य फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरेको हो ।
सहकार्य फ्रेमवर्कमा प्राविधिक सहयोग र वित्तीय सहायता (टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी) भन्ने शब्दावली उल्लेख गरिएको छ । ‘एड फाइनान्सिङ’ ले सहुलियतपूर्ण ऋण पनि समेट्ने विज्ञहरूको भनाइ छ । सहकार्य ‘फ्रेमवर्क’मा कुनै विशिष्ट क्षेत्रमा सहकार्य गर्नुपर्ने अवस्थामा दुवै पक्षले सम्झौता वा अन्य सहकार्यका दस्तावेजमा हस्ताक्षर गर्ने भनिएको छ । दुई पक्षबीच सहयोग र वार्ता सञ्चालन गर्दा साझा विकासका लागि संयुक्त परामर्श, अर्थपूर्ण प्रभावका लागि व्यावहारिक सहयोग, लगानी वृद्धिका लागि नीतिगत वातावरणमा सुधार गर्ने सहकार्य ‘फ्रेमवर्क’मा उल्लेख छ । सम्भाव्य परियोजना कार्यान्वयनका सन्दर्भमा पारस्परिक हित महसुस हुने सिद्धान्त अपनाइने पनि त्यसमा जनाइएको छ ।
सहयोग क्षेत्रको परिधिभित्र पर्ने परियोजनाको पहिचान र विकास गर्ने, वित्तीय तथा प्राविधिक स्रोतको बाँडफाँट, वित्तपोषणको व्यवस्था, खरिद विधि, कार्यान्वयन र कार्यान्वयनका लागि जिम्मेवार निकायको पदनामजस्ता क्षेत्रमा वार्ताका माध्यमबाट परियोजनाको विकासलाई सहजीकरण र तीव्रता दिने सहकार्य ‘फ्रेमवर्क’मा उल्लेख छ । आर्थिक सहयोग, वित्तीय क्षेत्रको सहयोग, यातायात, सम्पर्क र ‘लजिस्टिक्स’ सहकार्य, व्यापार, औद्योगिक क्षमता र लगानी सहकार्य, भन्सार सहयोगका सम्बन्धमा दुवै पक्ष सहकार्यमा आधारित रहेर प्रोत्साहन गर्ने जनाइएको छ ।
ओलीको चीन भ्रमणको संघारमा नेपालले अनुदानमा आधारित बीआरआई परियोजना अघि बढाउने गरी सम्झौताको दस्तावेज प्रस्ताव गरेको थियो । तर चीनले त्यसमा ‘सहयोग’ शब्द राख्न चाहेपछि दुवै पक्षले थप गृहकार्य गरेर सहकार्य ‘फ्रेमवर्क’मा ‘टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी’ शब्दावली राखिएको हो ।
सहकार्य ‘फ्रेमवर्क’मा १० वटा परियोजनासमेत उल्लेख छन् । टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मैत्रीपार्क र झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्सलाई ‘फ्रेमवर्क’मा राखिएको हो ।
चीन र नेपाल सरकारले २०१७ मे १२ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । तर त्यसको कार्यान्वयनसम्बन्धी सम्झौता नहुँदा नेपालमा बीआरआई परियोजना सुरु भएको थियो । सहकार्य ‘फ्रेमवर्क’मा भएको हालै भएको सम्झौता बीआरआई परियोजना अघि बढाउने बाटो खोलेको छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्