समाचार

२०३४ को विश्वकप साउदीमा हुने



काठमाडौँ, २७ मंसिर । नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबलाई फिफाले १० वर्षपछि हुने पुरुष फुटबल विश्वकप–२०३४ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ ।

फिफा मुख्यालयमा बुधबार भएको मतदानमा साउदी एक्लैले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो । साउदी अरबले विश्वकप फुटबल आयोजनाको जिम्मेवारी पाएको फिफाको घोषणाले त्यस देशका नागरिकमा मात्र खुसी छाएको छैन । त्यो खुसीमा साउदीको विकासमा श्रम–पसिना बगाइरहेका १ करोड ३४ लाख आप्रवासी श्रमिक पनि जोडिएका छन् । आप्रवासी श्रमिकको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा हो, जसमा ४ लाख नेपाली श्रमिक पनि छन् ।

पछिल्लो १० वर्षमा साउदीमा १३ लाख ५२ हजार ८ सय नेपालीले श्रम गरेका छन्, जसमा १ लाख ११ हजार महिला छन् । कोभिडपछि वैदेशिक रोजगारीको अवसर खस्कँदै गएका बेलामा समेत साउदीले थप अवसर दिएको थियो र दिँदै पनि आएको छ । गतवर्ष मात्र ८ सय महिलासहित १ लाख ४८ हजार नेपाली श्रमिक साउदी गएका छन् ।