अर्थ

राजस्व सङ्कलनमा समस्या आएको छ : मन्त्री गुरुङ



काठमाडौँ, २९ मंसिर । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एवं सातौँ महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताए।

मन्त्री गुरुङले राजस्व सङ्कलनमा समस्या आएको स्वीकार गर्दै भने, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन । भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्‍याएको छ । यो सरकार उत्तरदायी देखिन्छ, तर अझै प्रयास गर्न बाँकी छ । सहजीकरण गर्नुपर्ने अवस्थामा कठिन नियमन काम गलत हो ।’