काठमाडौँ, ३ पौष । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् ।
आज बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रूपले गर्ने बताए ।
उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए । उनले शान्ति सुरक्षासँग जोडिने प्रहरी सङ्गठनलाई दुरुपयोग गर्न नहुने बताए ।
प्रहरी सङ्गठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रूपले प्रयोग गर्न नहुने उनको भनाइ छ । अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताए ।
पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भई कारागार पठाइएको बताए । गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लङ्घन नभएको बताए । लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लङ्घन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लङ्घन नहुने हो भन्दै उनले प्रश्न गरे ।
गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जीवी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए । उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्