काठमाडौँ, ६ पौष । लामो समयदेखि काम नभएर रुग्ण बनेका सडक योजनाको व्यवस्थापन गरिने भएको छ । त्यसका लागि तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अहिले यस्ता योजना बजेट नभएर अधुरा बनेका छन् । पहिला संघमा रहेका योजना पछि प्रदेशमा जाँदा बजेट विनियोजनमा समस्या भएर काम अघि बढ्न नसकेको बताइएको छ ।
रुग्ण योजना समस्या बनेको भौतिकमन्त्री देवेन्द्र दाहालले स्विकारे । ‘यसबारे निर्माण व्यवसायी र मन्त्रालयबीच सहमति भएर कसरी रुग्ण योजनाको व्यवस्थापन गर्ने भन्नेबारे छिट्टै निर्णय गर्ने गरी योजना बनाइरहेका छौं,’ उनले भने, ‘रुग्ण योजना सधैं राख्न हुँदैन, यसलाई समाधान गर्नतिर लाग्नुपर्छ, त्यहीअनुसार योजना बनाइरहेका छौं ।’ भौतिक मन्त्रालयसँग सम्बन्धित निर्माण व्यवसायीहरूको कामको भुक्तानी गर्ने क्रममा रहेको र त्यसका लागि रकम आइसकेको उनको भनाइ छ । बजेटमा योजना धेरै राखिए पनि त्यसअनुसारको बजेट नहुँदा समस्या भएको भौतिकमन्त्री दाहालले जनाए ।
‘६५३ वटा पुल बनाउने भनेर रातो किताबमा राखिएको छ, त्यसका लागि ७९ लाख रुपैयाँ छुट्याइएको छ,’ नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसधा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै शुक्रबार मन्त्री दाहालले भने, ‘जब कि ८/१० करोडभन्दा कम्तीमा पक्की पुल नै बन्दैन । सानो कल्भर्ट बनाउन पनि करोड रुपैयाँभन्दा बढी लाग्छ ।’ धेरै आयोजनाका लागि थोरै बजेट छुट्याउँदा काम सक्न समस्या हुने गरेको उनको भनाइ छ । सरकारले आर्थिक रूपमा बढी लाभ आउने आयोजनामा लगानी गर्नुपर्नेमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जोड दिए । ‘यस्ता आयोजनालाई सरकारले प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘त्यहीअनुसार काम पनि गर्नुपर्छ ।’
निर्माण क्षेत्रलाई चलायमान बनाउन सरकारले अहिलेसम्म गरेको कामका भुक्तानी दिनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘सरकारले अत्यावश्यकबाहेक नयाँ आयोजनामा जोड दिनुभएन,’ उनले भने, ‘पुराना ठेक्का आपसी समझदारीमा व्यवस्थापन गर्नुपर्छ ।’ सार्वजनिक खरिद नियमावली पटक–पटक संशोधन गर्दा निर्माण उद्योगमा जटिलता थपिएको उनले सुनाए । नेपालको पचासौं वर्षसम्म पनि सडक पुग्न नसक्ने ठाउँमा जलविद्युत् आयोजनामार्फत सडक पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘अहिले प्राविधिक कारणले दुई–चार दिन समस्या हुँदा लोडसेडिङ सुरु गर्यो भनेर हल्ला आइरहेको छ, लोडसेडिङ हुँदा रमाउने जमातले यस्तो हल्ला गरिरहेको छ,’ उनले भने, ‘लोडसेडिङ भएको छैन, ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनामा गत असोजको बाढीमा क्षति पुगेर निर्माण भइरहेको छ, कालीगण्डकी जलविद्युत् आयोजनाको एउटा युनिट बन्द छ । मर्मतको काम भइरहेको छ । यस्तो अवस्थामा पनि हामीले लोडसेडिङ हुन दिएका छैनौं ।’ भारतबाट बिजुली आयात नगरे अहिले पनि लोडसेडिङ हुने अवस्था रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जनाए । कान्तिपुर










प्रतिक्रिया दिनुहोस्