अर्थ

एडीबीद्वारा तीन परियोजनाको लागि १ खर्ब ५ अर्ब ६१ करोड सहयोग



काठमाडौँ, ६ पौष । एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिने जनाइएको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोस्वाले हस्ताक्षर गरे ।