सम्पादकीय

बूढीगण्डकीमा नेपालको हितलाई ध्यान दिन सुझाव



काठमाडौं, ४ भदौ । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) गेजुवासँग सरकारले सहमति गरे पनि नेपाललाई हित हुने कुरामा विशेष ध्यान दिनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

नेपाल इन्जिनियरिङ पेसाकर्मी सङ्घ (नेपा)को आयोजनामा शनिबार यहाँ आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजना प्राविधिक, अर्थराजनीतिक र कानुनी प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले त्यस्तो सुझाव दिए । राष्ट्रिय गौरवको आयोजनामा पर्ने बहुचर्चित जलाशययुक्त बूढीगण्डकी आयोजनाको काममा सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरूले बताए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय गौरवका आयोजना सकेसम्म नेपाली स्रोतसाधनले निर्माण गर्दा उपयुक्त हुने भए पनि आर्थिक समस्याले विदेशी कम्पनीलाई दिनुपर्ने बाध्यता रहेको बताउनुभयो । बूढीगण्डकीजस्तो आयोजनालाई नेपालले आफैँ निर्माण गर्न नसक्दा चिनियाँ कम्पनीलाई दिनु परेको चर्चा गर्दैै आयोजना निर्माणको चरणमा नेपाली हितमा ध्यान दिनुपर्छ भने ।

जलविद्युत्विज्ञ डा. डम्बर नेपालीले बूढीगण्डकीजस्तो आयोजनालाई नेपाली पैसा र स्रोतसाधनले निर्माण गर्ने सम्भावना रहँदारहँदै सरकारले चिनियाँ कम्पनीलाई दिएको गुनासो गरे । सकेसम्म आफ्नै स्रोतसाधनको सदुपयोग गर्ने्तिर हामीले ध्यान दिनुपर्छ, विदेशीले बनाइदिन्छन् भनेर मक्ख पर्दा नेपाललाई घाटा हुने उनले तर्क गरे ।

बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका पूर्वअध्यक्ष डा। लक्ष्मीप्रसाद देवकोटाले जल, खाद्य र ऊर्जा सुरक्षा नहुँदासम्म मुलुक स्वाधीन हुन नसक्ने बताए । बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणले त्यस क्षेत्रको पर्यटकीय विकास पनि हुने उहाँले चर्चा गरे । त्यस आयोजनाको निर्माणले मुलुकको अर्थतन्त्रसमेत सबल हुने उनले दाबी गरे ।

जलस्रोतविज्ञ डा. नारायण चौलागाईं र डा. विष्णुप्रसाद शर्मा नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण, सम्झौता र नेपाललाई हुने फाइदा र बेफाइदाका बारेमा प्रकाश पारेका थिए । सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गर्दा हल्का तरिकाले सम्झौता गरेको र नेपालको हितमा खासै ध्यान दिन नसकेको उनीहरूको टिप्पणी छ ।

कार्यक्रममा डा. राजेन्द्र अधिकारी, छवि पोखरेल, हरिराम श्रेष्ठ लगायतले बूढीगण्डकी जलविद्युत् आयोजनाका बारेमा चर्चा गरेका थिए । गोरखापत्रमा समाचार छ ।