राजनीति

सरकारले आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्नुपर्छ : मुख्यमन्त्री लामा



काठमाडौँ, ८ पौष । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकास निर्माणलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या भइरहेको बताएका छन् ।

आज हेटौँडामा गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिसँग योजना तर्जुमा तथा प्रदेश आयोजना बैङ्क सञ्चालनका सन्दर्भमा छलफल गर्दै मुख्यमन्त्री लामाले विकास गर्दैमा भोट आउँछ भन्ने धारणाको अन्त्य हुन जरुरी रहेको बताए ।

उनले नेपालमा पूर्वाधार निर्माण महँगो परिरहेको बताए । हालको पूर्वाधार निर्माणको विधिका कारण राज्यको खर्च बढी भइरहेको उनको भनाई छ । उनका अनुसार विकास निर्माणको काम डिजाइन एन्ड बिल्ड विधिमा सञ्चालन गर्दा सहज हुनेछ । 

उनले भने, ‘सरकारले आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्नुपर्छ । प्रभावकारी र वृहत् प्रकारको योजना कार्यान्वयन गरेर नागरिकलाई उत्पादन र आर्थिक उपार्जनमा जोड्नुपर्छ’ ‘प्रदेश सरकारले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउन आयोजना बैङ्क सञ्चालनको तयारीमा छ । प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आयोजना बैंकको काम अघि बढाउने योजना छ । हामी फिजिबिलिटी अध्ययन गरेर योजना छनौट गरेर काम अघि बढाउँछौ ।’