धनगढी, ९ पौष । कैलालीको भजनी नगरपालिकामा एक महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको छ ।
गाउँलेहरूको एक समूहले पौष ४ गते ३० वर्षीय महिलालाई घरबाट तान्दै घिसारेर लगेर मरणासन्न हुने गरी कुटपिट गरेको घटना बाहिरिएको हो । कुटपिटबाट अचेत भएपछि उनलाई त्यही दिन बेलुका ५ बजे आफन्तले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई धनगढी रिफर गरियो ।
अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ । उनको होस आए पनि मानसिक रूपमा विक्षिप्त बनेकी छन् ।
उपचारमा संलग्न चिकित्सक विदुरमणि ढकालले कुटपिटले मांसपेशीमा नराम्रोसँग असर परेको बताए । रगतमा इन्फेक्शन पनि हुन सक्ने र मुटुमा असर पुग्न सक्ने भएकाले केही दिन निगरानीमा राखेको डाक्टर ढकालले जानकारी दिए ।
पीडित महिलाकी आमाका अनुसार गाउँकै भलमन्सा लालबहादुर चौधरी र गुरुबाको आदेशमा गाउँलेहरूले उनलाई बोक्सी भन्दै कुटेका हुन् । त्यसअघि पनि उनलाई कुटपिट भएको थियो ।
पीडितकी आमाका अनुसार गाउँलेहरूले ‘म बोक्सी हुँ, गल्ती गरेँ, माफ गर’ भन्न लगाएका थिए । तर छोरीले ‘म बोक्सी होइन, किन माफी माग्ने’ भनेपछि कुटपिट गरेको उनले सुनाइन् ।
बेहोस भएपछि बचाउन गएका उनका भाइलाई पनि गाउँले कुटपिट गरेका छन् । यहाँसम्म कि बोक्सीको सन्तानलाई सिध्याउनुपर्छ भन्दै गाउँलेहरूले पीडितका छोरालाई समेत कुटपिट गरेको परिवारको आरोप छ ।
कुटपिटमा संलग्न ६ जना विरुद्ध पीडितका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनीहरूमध्ये चार जनालाई पक्राउ गरिए पनि दुई जनालाई अझै नियन्त्रणमा लिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्