राजनीति

सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यानको निर्माणलाई विशेष निर्णय गर्छौ: मन्त्री शाही



भक्तपुर, ९ पौष । बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको निर्माणलाई विशेष निर्णयमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मङ्गलबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले आगामी आर्थिक वर्षमा करिब १ अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रिय स्तरको उद्यान बनाउन गम्भीर प्रयत्न गर्ने बताए । “आउँदो आर्थिक वर्षमा करिब १ अर्ब बजेट बिनियोजन गरेर अन्तर्राष्ट्रिय स्तरको उद्यान बनाउन मेरो गम्भीर प्रयत्न रहनेछ। यो प्राणी उद्यानको मुलुकमा अर्को कुनै विकल्प छैन,” मन्त्री शाहीले भने, “त्यसैले यसको निर्माण कार्यलाई प्राथमिकता दिनु जरुरी छ।” उनले  यस परियोजनालाई सफल बनाउन आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । 

प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राष्ट्रिय प्राणी उद्यानले मुलुकको पर्यटन विकासमा ठूलो योगदान दिने भएकाले यसलाई चाँडो पूरा गर्नुपर्ने बताए । “म बन मन्त्रीलाई अनुरोध गर्न चाहन्छु हामीले यो परियोजनालाई मेगा प्रोजेक्टको रुपमा लिएका छौँ र हामीले यस प्राणी उद्यान यहाँ बनाउन सक्यौँ भने संसारमा कुनैपनि देशमा राजधानीबाट यति नजिक यति आकर्षक र मनमोहक बिरलै पाउँछौ ।” उनले  यो परियोजनाले सूर्यविनायक क्षेत्रलाई मात्र नभई सम्पूर्ण देशलाई लाभ दिने समेत बताए । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले आव ०७३/०७४ को बजेटमा ‘एक प्रदेश, एक प्राणी उद्यान’ स्थापना गर्ने नीति अनुसार काम थालेको तर काम थालेको आठ वर्षपछि कार्यालयको भवन एउटा बनेको त्यसपछि थप काम हुन नसकेको उनले बताए । उनले सरकारले बनाउन नसके कोषले पनि दाताहरूबाट पुँजी संकलन गरेर भए पनि निर्माण पूरा गराउन तयार रहेको बताए । सरकारले ६० वर्षका लागि आफूहरूलाई लिजमा दिए पाँचदेखि दस वर्षभित्रमा प्राणी उद्यानको सम्पूर्ण काम सकिइसक्ने दावी गरे । 

राष्ट्रिय प्राणी उद्यानका प्रमुख भुपेन्द्र यादवले सरकारको उदासिनताको कारण निर्माण कार्य अलपत्र भएकोले यसलाई छिटो अघि बढाउन स्थानीय सरकार र सङ्घीय सरकारबीच सहकार्य गरि योजना अनुसार अगि बढ्नु आवश्यक रहेको बताए । 

त्यसै कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले भने, “यो परियोजना हामिले युवा अवस्थामा सुरु गर्यौं, हामी जेष्ठ नागरिक हुँदा देख्न पाउने कि नपाउने ? यो अहिले ज्वलन्त समस्या भएको छ ।” उनले परियोजना शुरु भएको १ दशक बितिसक्दा पनि काम अगाडि नबढेकोले प्रति चिन्ता व्यक्त गर्दै सरकारले यस परियोजनालाई उच्च प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।  

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्व सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव केशव लुइँटेलले गरेका थिए । वि.सं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य सुस्त गतिमा छ । भक्तपुरको सूर्यविनायक स्थित २४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उद्यान अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्रको रुपमा सूर्यविनायकलाई परिचित गराउने अपेक्षा गरिएको छ ।