काठमाडौं, ६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ?’ उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ’ मिलन चोक जाना है । धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे ।
चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्र्यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । ‘ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ’ ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला, उनले नेपालीमा भने । चालक अबचाहिँ डरायो र भन्यो, ‘होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।’
सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् । ‘ट्याक्सी सेवामा गुणस्तरीयता’ प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयासु शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे ।
सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन् । तर दोस्रो चालकले पनि मानेन । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्