काठमाडौं, ६ भदौ । अविरल वर्षासँगै आएको बाढी र डुबानपछि महामारी फैलन नदिन सरकारले विशेष सतर्कता अपनाएको छ । बाढीपछि आउनसक्ने महामारीजन्य रोगलाई रोकथाम गर्न यतिखेर स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा चिकित्सकहरूसहितको टोली तराईका विभिन्न जिल्लामा खटिएको छ । साउन २७ गतेदेखि परेको अविरल वर्षाका कारण तराईका ३० जिल्ला प्रत्यक्ष प्रभावित भई लाखौँ मानिस विस्थापित भएका थिए ।
बाढी र डुबानपछि महामारी फैलनसक्छ भन्दै स्वास्थ्यमन्त्री पोखरेलले महामारीको प्रकोपलाई यो बेला रोक्न सकिएन भने महामारी भइसकेपछि रोक्न सम्भव नहुने बताए । बाढीपछि स्वास्थ्यमन्त्री पोखरेलले प्रभावित जिल्लामा गएर स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनुका साथै सम्बन्धित निकायलाई महामारी रोक्न अपनाउनुपर्ने सावधानीका विषयमा पनि निर्देशन दिँदै त्यसको कार्यान्वयनमा आफैँ पनि क्रियाशील भएका छन ।
बाढीबाट हालसम्म १३५ जनाको मृत्यु भएको छ भने ३० जना हराइरहेका छन् । त्यस क्रममा ४१ जना घाइतेको उपचार भइरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार मौसममा आएको सुधारसँगै विस्थापितहरू घर फर्किने क्रम जारी छ । केही विस्थापितहरू विद्यालय, पक्की सडकको किनारा, आफन्तकहाँ आश्रय लिइरहेका छन् ।
विभागका उपमहानिर्देशक चूडामणि भण्डारीले बाढीपछिको स्वास्थ्य समस्या सामाधान गर्न तथा विभिन्न सरुवा रोगको प्रकोप हुनसक्ने सम्भावना रोक्न स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले विभिन्न साझेदार संस्था र स्थानीय तहको संयोजनमा नियमित स्वास्थ्य सेवा सञ्चालन गरिरहेको जानकारी दिए । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्