Banner News

प्रधानमन्त्री ओलीको भनाइप्रति महामन्त्री शर्माको विमति



काठमाडौँ, २४ पौष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाएका छन् ।

बुधबार झापाको कचनकवलमा आयोजित कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखेका हुन् । उनले सात बुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको बताए । उनले संविधान संशोधन गर्न राष्ट्रिय सभामा माओवादी केन्द्रको सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाइको गणित नपुग्ने बताए । 

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ यदि उहाँले नेकपा एमालेको बैठक हुँदैगर्दा भन्नुभएको संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु । सात बुँदे समझदारी गर्दैगर्दा हामीले संविधान संशोधन आजको आवश्यकता जगमा यसलाई पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेका छौँ । संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागिता भएन भने दुई तिहाइको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू ।’