राजनीति

हाम्रो देश कलाका लागि प्रसिद्ध छ : प्रधानमन्त्री ओली



ललितपुर, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देश कलाका लागि प्रसिद्ध रहेको बताएका छन् ।

आज नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामानभन्दा आफैँले मेहनत गरेर फलाएका  खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे । ‘हाम्रो देश कलाका लागि प्रसिद्ध छ ।

यहाँका कला अमूल्य छन् । यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु । त्यसका आधारमा हामी थप काम गर्नेछौँ ।’