काठमाडौँ, २७ पौष । अवैध रूपमा भन्सार छली लैजान लागेको सुनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी घर भएका ३२ वर्षीय कृष्ण प्रसाद चौधरी, ३० वर्षीय मोहम्मद ईलियास र सुनसरी ईटहरी उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय शिव शङ्कर चौधरी रहेका छन् ।
शुक्रबार दिउँसो हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन फेला पारी पक्राउ गरेको हो । प्रहरीले कृष्ण प्रसादको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान र शिव शङ्करको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।










प्रतिक्रिया दिनुहोस्