काठमाडौँ, २८ पौष । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठकले दुई देशबीच कृषि र औषधीय वनस्पतिसम्बद्ध व्यवसायमा सहजीकरण गर्ने सहमति गरेको छ । काठमाडौंमा सम्पन्न बैठकले शनिबार जलविद्युत्, नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्ने विषयमा समेत सहमति गरेको नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बिउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यवसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायत विषयमा आवश्यक सहजीकरण गर्ने सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
उक्त अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । बैठकमा भएका सहमतिका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले बसेको बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्