काठमाडौँ, २८ पौष । मकवानपुरबाट लागु औषध चरेस र अफिम सहित २ भारतीय पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २१ किलो ४६० ग्राम लागूऔषध चरेस र ३ किलो ४७० ग्राम अफिम सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको हिसार जिल्ला ग्राम पञ्चायत गोविन्द नगर घर भएको २५ वर्षीय कुनाल गोथ्वाल र सोही स्थानका २० वर्षीय मनिस कुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शनिवार बिहान २ बजे थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । टिस्टुङबाट हेटौँडा हुँदै भारततर्फ लागूऔषध ओसारपोसार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा सवारी साधनहरू जाँच गर्ने क्रममा डीएल ८ सिएक्स १२२४ नम्बरको भारतीय कारलाई रोकी जाँच गर्दा उनीहरुले कार भित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध चरेस र अफिम फेला पारेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्