काठमाडौँ, २ माघ । निर्माणमा कुनै समस्या आइनपरे आउँदो २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्ग हुँदै पूर्व–पश्चिमका लागि सवारीसाधन छुट्नेछन् । २०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८५ प्रतिशत काम सकिएको छ । अब १५ प्रतिशत मात्र निर्माणको काम ८ महिनाभित्र सक्नुपर्नेछ ।
सुरुङको धेरै काम सकिइकेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीले बताए । ‘मुख्य–मुख्य काम सकिसकेको छ, अहिले सुरुङभित्र क्रंकिट ढलान (सडक) को काम अन्तिम चरणमा छ,’ उनले भने, ‘कुनै भवितव्य आइनपरे तोकिएको समयभित्र काम सक्न समस्या छैन ।’ अहिले सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्ने आयोजनाको भनाइ छ । तर सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्ने खोलाबाट बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ ।
‘सिस्ने खोला उकालोमा दैनिक ट्राफिक जाम, दुर्घटनाको जोखिम बढी छ, गत असोजमा यही खण्डमा पर्ने झ्याप्ले खोलामा पहिरो खसेर ठूलो दुर्घटना भयो,’ उनले भने, ‘सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा उकालोमा हुने दुर्घटना कम हुन्छ । यात्राको समय पनि छोटिन्छ ।’ आपत्कालीन र मुख्य सुरुङ छुट्टाछुट्टै निर्माण गरिएको छ । आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । अहिले उक्त सुरुङको ९ मिटर मात्र क्रंकिट ढलानको काम बाँकी छ ।
मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सात द्वार छन् । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्ने खोलामा पर्ने मुख्य सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर छ । यसको अब १ हजार ५ मिटर मात्र कंक्रिट ढलानको काम गर्न बाँकी रहेको आयोजना स्रोतले जनायो । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् ।
बलम्बुस्थित किसिपिडीबाट सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म सडकको दूरी २.३०७ किमि छ । अहिले दुई लेनमा तेस्रो तहमा सडक कालोपत्रको काम भइरहेको छ । फ्लाइओभरको काम पनि धमाधम भइरहेको र ९५ प्रतिशत सकिइसकेको आयोजनाले जनाएको छ । ‘यो सवारीसाधन गुड्ने फ्लाइओभर हो, यसको निर्माण प्राविधिक रूपमा चुनौतीपूर्ण थियो,’ जैसीले भने, ‘यसको काम पनि अन्तिम चरणमा पुगेको छ ।’
सुरुङ सञ्चालनमा आएपछि दूरी, समय मात्र घट्ने छैन, सवारीसाधनमा लाग्ने इन्धन खर्च पनि कम हुनेछ । अहिले सुरुङभित्र फायर फाइटिङ र लाइटिङ जडानको काम भइरहेको छ । भेन्टिलेसन जडानको काम पनि जारी छ । रेलिङ लगाउने, भित्तोमा रङरोगन गर्ने काम पनि तीव्र छ ।
अहिले नागढुंगा सडक खण्ड भएर दैनिक १० हजार बढी सवारीसाधन ओहोरदोहर गर्छन् । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । कोभिड र बेलाबेलामा स्थानीयको अवरोधले गर्दा आयोजना तोकिएको समयमा नसकिएको सडक विभागले जनाएको छ । सुरु सम्झौताअनुसार आयोजनाको काम ४२ महिनाभित्र सकिनुपर्थ्यो । तर निर्माण थालेको ६२ महिना बितिसकेको छ । अर्थात् सुरु सम्झौताभन्दा २० महिना बढी समय लागे पनि निर्माण सकिएको छैन । ‘अहिले समस्या छैन,’ जैसीले भने, ‘यही रफ्तारमा काम भइरहे थपिएको समयभन्दा अघि नै काम सक्न समस्या छैन ।’
सञ्चालन आउने बेलासम्म सुरुङ सञ्चालनसम्बन्धी नियम कानुन बनाइसक्ने र कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा टुंगो लगाइने जैसीले सुनाए । ‘सुरुङ निर्माण गर्न महँगो पर्छ, निर्माण सकिएपछि सञ्चालन खर्च पनि बढी नै लाग्छ,’ उनले भने, ‘यो सुरुङमार्ग सञ्चालन गर्न वार्षिक ४० करोड रुपैयाँ लाग्ने अनुमान छ, त्यसैले कति खर्च लाग्छ र कसरी सञ्चालन गर्ने भन्नेबारे हामी छलफलकै क्रममा छौं ।’ सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि छिट्टै शुल्क निर्धारण गर्ने तयारी भइरहेको उनले सुनाए । दुईपांग्रे, अति प्रज्वलनशील, बढी भारवहन क्षमता भएका सवारीसाधनले भने यो सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्