समाचार

आजको मौसम



काठमाडौँ, ३ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।