राजनीति

पक्षाघात उपचारका लागि औषधी निःशुल्क उपलब्ध गराउने मन्त्री पौडेलको निर्णय



काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गइरहेको पक्षाघातको उपचार गरी जीवन रक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षाघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

‘उपचार गर्न सकिने भएपनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको फायौँ’, पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधी प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गइरहेको पक्षाघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबिच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।