समाचार

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु



काठमाडौँ, २४ माघ । चितवनको सौराहा क्षेत्रमा देखिरहने मकुना नामक जंगली हात्तीको गोली लागेर मृत्यु भएको छ ।

जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जको जिकिर छ ।

उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको निकुञ्जले विज्ञप्तिमार्फत दाबी गरेको छ । स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको पनि निकुञ्जले जनाएको छ ।

बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । घरपालुवा हात्ती (चुरेगज) लाई आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले जनाएको छ ।