सम्पादकीय

प्रधानमन्त्री देउवालाई भारतीय नेताको सुझाब : लोकतन्त्र सुदृढ गर्नुहोस्



नयाँदिल्ली, १० भदौ । भारतका विभिन्न राजनीतिक दलका नेताले आसन्न निर्वाचनमार्फत नेपालमा लोकतन्त्र सुदृढ होस् भन्ने शुभकामना दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार बिहान राष्ट्रपतिभवनमा खाजासहितको भेटवार्तामा उनीहरूले नेपालको शान्ति र स्थिरताका लागि भारतबाट हरसम्भव सहयोग हुने बताएका हुन् ।

संविधान संशोधनमार्फत सबैलाई लिएर जाने देउवाको प्रयासलाई सराहना गरेका उनीहरूले प्रान्त र केन्द्रीय संसद्को निर्वाचनपछि धेरै समस्या समाधान हुने विश्वाससमेत गरेका छन् ।

प्रधानमन्त्री हैदराबाद जानुअघि शुक्रबार बिहान भारतीय माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, जनता दल युनाइटेडका पूर्वअध्यक्ष शरद यादव, सोही दलका उपाध्यक्ष केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदोरिया, सांसद डिपी त्रिपाठी, राष्ट्रिय स्वयंसेवक संघका नेता इन्द्रेस कुमारले सामूहिक भेटवार्ता गरेका थिए ।

येंचुरीले लोकतान्त्रिक आन्दोलनमा सहभागी सबै दलबीच साझा समझदारी बनाएर लोकतन्त्र संस्थागत गर्नुपर्ने सुझाब दिएका थिए । दोस्रो जनआन्दोलनका समर्थक तथा दिल्लीमा भएको १२बुँदे समझदारीका सूत्रधारमध्येका एक येंचुरीले कांग्रेस, एमाले, माओवादीसहित परिवर्तनकारी दलहरू लोकतन्त्र संस्थागत गर्न एउटै ठाउँमा उभिनुपर्ने सुझाब दिएका हुन् । यसमा देउवाले सहमति जनाउँदै सक्दो प्रयास आफूले गरिरहेको बताएका थिए ।

इन्द्रेसले नेपालमा बढिरहेको धर्मान्तरणमा चासो राखेका थिए । उनले नेपाल र भारतबीच जनस्तरको सम्बन्धलाई विकास र समृद्धिमा बदल्नुपर्ने पनि बताएका थिए ।

भदोरियाले देउवाको नेतृत्वमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहेको बताए । ‘आगामी निर्वाचनमा सबै पक्ष सहभागी हुने वातावरण देउवाजीको कुशल नेतृत्वमा तयार भएको छ, अब नेपालको लोकतन्त्र सुदृढ हुन्छ भन्नेमा हामी विश्वस्त छौँ भन्ने कुरा मैले राखेँ,’ उनले भने ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग लामो समय संगत गरेका भदोरियाले संविधान संशोधन नभए पनि निर्वाचनको माहोल बनेको र निर्वाचनमार्फत सबैका आकांक्षा सम्बोधनको प्रयास भए नेपाललाई फाइदा हुने उनको सुझाब थियो ।

त्यागीले नेपाल र भारतबीच बाँध र बाढीका समस्याबारे समाधान हुनुपर्ने बताएका थिए । ‘मैले नेपालको शान्ति, स्थिरता र लोकतन्त्रको सुदृढीकरणको कुरा गरेँ, योभन्दा पनि बिहार र नेपालबीच बाढी नियन्त्रणका विषयमा तत्कालै कदम चाल्नुपर्छ भन्ने विषय राखेको छु,’ उनले नयाँ पत्रिकासँग भने ।

बिहारका मुख्यमन्त्री नीतीश कुमार अध्यक्ष रहेको जेडियूका नेता त्यागीले बाढी नियन्त्रण, बाँध नियन्त्रणलगायतका विषयमा समाधानमुखी छलफल गर्न मुख्यमन्त्री नीतीश तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवालाई शनिबार मुख्यमन्त्री नीतीशले बोधगयामा भेटेर यसबारे थप छलफल गर्ने त्यागीको भनाइ छ ।

भारतका विभिन्न राजनीतिक दलका नेताले आसन्न निर्वाचनमार्फत नेपालमा लोकतन्त्र सुदृढ होस् भन्ने शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवासँग शुक्रबार राष्ट्रपतिभवनमा भएको भेटवार्तामा उनीहरूले नेपालको शान्ति र स्थिरताका लागि भारतबाट हरसम्भव सहयोग हुने बताएका हुन् । सो अवसरमा देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको, तर लोकतान्त्रिक पक्षधर दलहरूले दुईतिहाइ मत ल्याउन सके संशोधन हुने उल्लेख गरेका थिए ।

एमालेका कारण संविधान संशोधन भएन : देउवा
प्रधानमन्त्री देउवाले निर्वाचनमा सबै पक्ष सहभागी हुने वातावरण निर्माण गरेको र नयाँ म्यान्डेटका आधारमा सबै समस्या समाधानको पहल हुने बताएका थिए । उनले एमालेका कारण संविधान संशोधन हुन नसकेको, तर लोकतान्त्रिक पक्षधर दलहरूले दुईतिहाइ मत ल्याउन सके संशोधन हुने उल्लेख गरेका थिए । बैठकमा सहभागी उनकी पत्नी एवं कांग्रेस नेतृ डा। आरजु देउवा राणाले पनि प्रधानमन्त्रीले गरेका प्रयासबारे बताएकी थिइन् ।

प्रधानमन्त्री देउवालाई बिहीबार बेलुकै भेटेका कांग्रेस अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधामन्त्री डा। मनमोहन सिंहले पनि निर्वाचन सफलताका लागि शुभकामना दिएका थिए । बिहीबार राति नेपाली राजदूत दीपकुमार उपाध्यायले दिएको रात्रिभोजमा पनि भारतीय नेताहरूले निर्वाचनमार्फत नेपालको लोकतन्त्र संस्थागत होस् भन्ने कामना गरेका थिए । कांग्रेस नेता डा. करण सिंह, भाजपा नेता जगदम्बिका पाललगायतले निर्वाचनका लागि देउवालाई शुभकामना दिएका थिए ।

धार्मिक यात्रामा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा राजनीतिक भेटवार्ता सकेर शुक्रबार धार्मिक भ्रमणमा निस्केका छन् । उनको तेलंगनाका गभर्नर र बिहारका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ता र दुई मन्दिर दर्शनबाहेक अरू कार्यक्रम छैन । शुक्रबार प्रधानमन्त्री देउवा नेपाली भ्रमण दलका सदस्यसहित तेलंगनाको राजधानी हैदराबाद पुगेका छन् ।

भारतीय विशेष विमानमै दिवाभोज खाएर उनी दिउँसो राजीव गान्धी विमानस्थल उत्रेका थिए । त्यहाँबाट फलक्नुमा होटेल पुगेर देउवाले हाइटेक सिटीको भ्रमण गरेका थिए । जसलाई अमरावती नाम दिइएको छ । त्यसपछि होटेल फर्केर आराम गरेका देउवा उक्त राज्यको गभर्नर एकादु श्रीनिभासन लक्ष्मीसँग भेटवार्ताका लागि राजभवन पुगे । गभर्नर लक्ष्मीले रात्रिभोज दिएका थिए । गभर्नरसँग शिष्टाचार भेटबाहेक अरू कुनै कार्यक्रम थिएन ।

देउवा शनिबार बिहान १० बजे विशेष विमानबाट तिरुपति दर्शनका लागि जाँदै छन् । १ घन्टा १० मिनेटको उडानपछि उनी तिरुपति पुगेर केहीबेर श्रीकृष्ण गेस्टहाउसमा बस्नेछन् । र १२ः३० मा तिरुपति बालाजी मन्दिर दर्शनका लागि जानेछन् । दर्शनपछि होटेल फर्केर प्रधानमन्त्री देउवा शनिबार अपराह्न ५ बजे गया पुग्ने कार्यक्रम छ ।

उनी गयाको रोयल रेजेन्सी होटेलमा बस्नेछन् । उनलाई सोही होटेलमा बिहारका मुख्यमन्त्री नीतीश कुमारले रात्रिभोज दिने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार गयास्थित महाबोधी मन्दिर दर्शन गर्ने कार्यक्रम छ । उनी त्यहाँबाट अपराह्न ३ बजे दिल्ली जाने र दिल्लीबाट साँझ ८ बजे काठमाडौं फर्किने कार्यक्रम छ । नयाँ पत्रिकामा समाचार छ ।