समाचार

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’



काठमाडौँ, ३ फागुन । पर्साको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । 

जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ सुरू गरिएकाे हो । 

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्न विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिए । 

“माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ,” उनले भने, “यसले सामुदायिक वनमा बाघ, चितुवालगायत जंगली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा राखेका छौँ ।” 

राष्ट्रिय निकुञ्जभित्र क्यामेरा ट्रयापिङ सामान्यजस्तै भए पनि साझेदारी वनमा भने जिल्लामै पहिलोपटक जडान गरिएको उनको भनाइ छ । 

पर्सामा सबैया, बढनिहार र मानवा सवडिभिजन कार्यालय मातहतका क्षेत्रमा तीनतीनवटा क्यामेरा क्यामेरा ट्रयापिङ जडान गर्न लागिएको हो । 

रङ्गपुर, भतौडामा पनि एकएक र अन्य एक ठाउँमा पनि क्यामेरा ट्रयापिङ जडान कार्य भइरहेको छ ।