अर्थ

लगानी बोर्ड र उद्योग विभाग गाभ्न सुझाव



काठमाडौँ, ८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले लगानी बोर्ड र उद्योग विभाग गाभेर पुनःसंरचना गर्न सरकारलाई सुझाएको छ ।

एउटै प्रकृतिका धेरै निकाय हुँदा लगानीकर्तालाई समस्या भएको, एकद्वार नीति पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकोलगायत कारण स्वदेशी तथा विदेशी लगानी भित्रिन नसकेको महासंघको निष्कर्ष छ । 

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव दिँदै महासंघले बिहीबार एकद्वार नीति पूर्ण कार्यान्वयनका लागि लगानीकर्ताले एक ठाउँमा फाइल बुझाएपछि अन्यत्र जान नपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

नेपालमा लगानी अभियान (इन्भेस्टमेन्ट इन नेपाल क्याम्पेन) कार्यक्रम स्वदेश तथा विदेशमा सञ्चालन गर्न उसको सुझाव छ । पछिल्ला दुई वर्षमा विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमा सीमित भएको हुँदा लगानीको स्रोत जुटाउन नेपालमा लगानी अभियान कार्यक्रम व्यापक रूपमा स्वदेश तथा विदेशमा सञ्चालन गरिनुपर्ने महासंघको सुझाव छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुझाव पेस गरेका हुन् ।