कञ्चनपुर, ८ चैत । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ ।
पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिंदै जान थालेको हो ।
‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके’, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।’ आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन् ।
तीव्र रूपमा भइरहेको सहरीकरणलाई उनी भँगेरा विनासको कारण मान्दछन् । भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको उनको भनाइ छ । भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उनी बताउँछन् ।
चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ । विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ ।
चरा संरक्षणका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन् । चराप्रेमीले आआफ्नो घर वरिपरि २० मिनेट भँगेरा गणनाको काम गरेका छन् । कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रूखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताए । विद्यार्थीमाझ छलफल, अन्तरक्रियालगायत कार्यक्रम पनि गरिएका छन् ।










प्रतिक्रिया दिनुहोस्