शैक्षिक

ताक्लाकोट नाकासम्म सडक पुर्रयाउने पहल भएको छः मन्त्री बलायर



धनगढी, १५ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले चीनको ताक्लाकोट नाकासम्म सडक सञ्जाल पुर्याउने विषयमा पहल थालिएको बताए ।

धनगढीमा बुधबार पत्रकार सम्मेलनसँग कुरा गर्दै मन्त्री बलायरले ७ नं प्रदेशको धनगढी–दिपायल–चैनपुर हुँदै चीनको ताक्लाकोट नाकालाई सडक सञ्जालले जोडेर आवागमन सहज बनाउनेबारे नेपालका लागि चिनियाँ राजदूतसँग केही दिनअघि कुरा भएको जानकारी दिए ।

उहाँले महाकाली नदीमा नेपालको आफ्नै लगानीमा देशकै पहिलो चार लेनको पुल बन्न लागेको र त्यसको शिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार गर्ने कार्यक्रम रहेकोसमेत जानकारी दिए ।

आफ्नो कार्यकालमा यातायात र भौतिक पूर्वाधारका क्षेत्रमा केही न केही नयाँ काम होस् भन्नेतर्फ मन्त्रालय केन्द्रित रहेको बताउँदै उहाँले भन्नुभयो, ‘चालक अनुमतिपत्र वितरणको व्यवस्थालाई व्यवस्थित र सहज बनाउन पहल गरेका छौँ ।’

मन्त्री बलायरले नारायणघाट–मुग्लिङ सडकखण्डमा दशैँ अगावै यातायात आवागमन सहज बनाउने गरी काम भइरहेको बताए । गैँडाकोटबाट मुग्लिङसम्मको बैकल्पिक सडक बनाउनेबारे पनि अध्ययन थालिएको मन्त्री बलायरले बताए ।