Banner News

बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा भक्तपुरको मालपोतमा आन्दोलन



भक्तपुर, १५ भदौ । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ ।

एशोसिएसनले गरेको यो आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । आज एशोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै विरोधको ब्यानर टाँगेर कलम बन्द गरी आन्दोलन गरेको हो ।

एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काममा ढिलासुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

मालपोत अधिकृतको गलत कार्यशैली रहेको, अनलाइन सेवा भनिए पनि विद्युत् अवरुद्ध भएको बहानामा सेवा नदिएको, कार्यालय प्रमुखले हैकमवादी शैली प्रस्तुत गरेको उनको आरोप थियो ।

उनले भने, मन्त्रालयको निर्णय भन्दै रोकिएको जग्गा कित्ताकाट खुल्ला गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि अझै जग्गा कित्ताकाट नगरेर दुःख दिएको छ ।

एकैघरको पितापुर्खाको पैतृक सम्पत्तिको नामसारीमा समेत लाभकर लिने गरेको आरोप कार्यालयमाथि लागेको छ ।

एशोसिएसनका पूर्वअध्यक्ष राजेन्द्र बस्नेतले सेवाग्राहीलाई छिटो र सहज सेवा दिन माग गर्दा उल्टै मोठमा जान नपाएर आन्दोलनमा उत्रिएको आरोप लगाएको गुनासो गरे ।

उनले मालपोत कार्यालयले वार्तामा बोलाएर माग सम्बोधन नगरेसम्म मालपोतको काम ठप्प पार्ने बताए।

लेखापढीको आन्दोलनका कारण जग्गा नामसारी, अंशबण्डालगायतका विभिन्न कामका लागि आएका सयौँ सेवाग्राहीलाई कार्यालयभित्र जान नदिएपछि उनीहरु फर्किएका छन् ।

कार्यालयका प्रमुख कमल तिमिल्सिनाले बाहिरी एवं बिचौलिया व्यक्तिले मोठ, तामेली फाँटमा प्रवेश गरेर समस्या पारेपछि त्यसलाई रोक्न खोज्दा लेखापढी व्यवसायी आन्दोलनमा उत्रिएको बताए ।

उनले भने, हामीले फाँटमा बाहिरी व्यक्ति प्रवेश गर्न रोकेकै दिनदेखि उहाँहरुले आन्दोलन गर्नुभएको छ । खासै माग पनि छैन, प्रमुख फेर्नुप¥यो भन्ने माग हो । कुनै हालतमा हामी फाँटमा बाहिरी मान्छेलाई प्रवेश गर्न दिन्नौँ ।