काठमाडौँ, २० चैत । काठमाडौँ बुधबार पनि विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ ।
वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ सहरमध्ये काठमाडौँ सर्वाधिक प्रदूषित भएको देखाएको हो ।
आइतबारयता लगातार काठमाडौँ यस सूचीको एक नम्बरमा छ । बुधबार बिहान ११ः३० बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २४२ पुगेको आईक्यू एयरको तथ्यांक छ । मंगलबार सोही समयमा काठमाडौँको एक्यूआई २५६ मापन भएको थियो ।
दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई २१२ छ । यीबाहेक अन्य सहरमा यो सूचकांक २०० भन्दा कम छ । स्वास्थ्यका दृष्टिकोणले यी दुई सहर अति अस्वस्थकर बनेका छन् ।
वातावरण विभागका अनुसार, काठमाडौँ उपत्यकाका पाँच स्थानमा वायु प्रदूषण उच्च छ । बुधबार बिहान ११ः३० बजे काठमाडौँका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर अस्वस्थ्करको सूचीमा छन् । ती स्थानको एक्यूआई १७४ देखि १९५ सम्म मापन भएको छ ।
प्रतिक्रिया दिनुहोस्