राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुने



काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार अपराह्न थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता तय भएको छ ।

मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटेलमा दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । परराष्ट्र मन्त्रालयको प्रोटोकल डिभिजनले तयार पारेको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार अपराह्न ४ बजेदेखि ४:२० सम्म २० मिनेट प्रधानमन्त्रीसहित सातजना प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग हुन लागेको यो दोस्रो भेट हो । उनीहरू बिच पहिलो भेट अमेरिकाको न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन । 

थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच २० मिनेट वार्ता तय भएको छ ।