मुस्ताङ, १७ भदौ । मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा–चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् ।
उपल्लो मुस्ताङका ६ गाविस मिलेर दुई गाउँपालिका बनेको छ । छोन्हुप, छ्होसेर, लोमान्थाङ गाविस मिलेर लोमान्थाङ गाउँपालिका बनेको छ भने चराङ, घमी र सुर्खाङ गाविस मिलेर दालमे गाउँपालिका बनेको छ । यहाँ विष्ट (थकाली), गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ ।
यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । ‘कसैलाई जलाउनू भन्छन्, कसैलाई गाड्नू भन्छन् । कसैलाई काटेर पानीमा बगाउनू भन्छन्, कसैलाई चोक्टाचोक्टा पारेर गिद्धलाई खुवाउनू भन्छन्’, विष्ट भन्छन्, ‘काटेर गिद्धलाई खुवाउनुचाहिँ सबैभन्दा राम्रो मानिन्छ ।’
शवको मासु खाएर गिद्धले डाँडाकाँडामा दिसा गरेपछि मरेको मान्छेको पनि वरत्रपरत्र राम्रो हुन्छ र कुलवंश पनि फैलिन्छ भन्ने धार्मिक विश्वास रहेको उनी बताउँछन् । गाड्नुलाई भने नराम्रो मानिन्छ । ‘कुनै डरलाग्दो सरुवारोग लागेर मरेको मान्छेलाई गाड्ने सुझाव लामागुरुले दिन्छन्’, दालमे गाउँपालिकाका प्रमुख राजु विष्टले भने । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्