समाचार

नौ वर्षपछि दोदा नदीमा पुल बन्दै



कञ्चनपुर, ७ वैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिका  र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ ।

पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निमार्णको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ । 

डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाले पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको बताए । पुल असारसम्म निर्माण सक्ने तयारी छ । 

सम्झौताअनुसार पुल निमार्णको काम आगामी माघमा सक्नुपर्ने समयसीमा छ । तर, पुल निर्माण कम्पनीले बर्खामा पुलमा आवतजावत गर्नेगरी काम गरिरहेको जनाएको छ । पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।