काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन आग्रह गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उनले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति लोकतन्त्र दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले भनेका छन्, ‘वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसको नेतृत्वमा अन्य राजनीतिक दलहरू समेतद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो । यो संविधानको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।’










प्रतिक्रिया दिनुहोस्