काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् ।
भारतको काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज दूतावासमा आयोजित सभामा उहाँले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पारेकी हुन् । मन्त्री डा राणाले आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताका विरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन् ।
उनले भनिन्, “नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ । हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुसी या संकटको समयमा एकसाथ उभिएका छौँ । भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो ।”










प्रतिक्रिया दिनुहोस्