राजनीति

राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौँ, १९ वैशाख । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा  चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा मौसूफबाट विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण हुनाका साथै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिएका थिए । 

बेलायती नरेशले नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गरेको लण्डनस्थित नेपालको राजदूतावासले जनाएको छ । 

दुई शताब्दी लामो द्विदेशीय सम्बन्धको चर्चा गर्दै राजदूत घिमिरेले नेपालको सामाजिक–आर्थिक विकासका खातिर संयुक्त अधिराज्यबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गरेका थिए ।