काठमाडौँ, २१ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वसनीय बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ ।
स्रोत व्यवस्थापन र खर्च व्यवस्थापनका विषयमा अनुशासित हुनुपर्ने अवस्था मुलुकमा आएकाले अहिले सरकारसँग कोही पनि त्रासमा बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
नेपाल व्यवस्थापन सङ्घले शनिबार राजधानीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटपूर्व छलफलमा उहाँले निजी क्षेत्रको विश्वास र आत्मबल बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी नजिक रहेर काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । निजी क्षेत्रले उठाएका मुद्दालाई एकसाथ सम्बोधन गर्न अध्यादेश ल्याइएको भन्दै उहाँले अध्यादेशको स्रोत नै निजी क्षेत्र भएको बताउनुभयो । नेपालमा नेपाली मोडेलको समाजवाद ल्याउने उहाँको भनाइ थियो । “देश आर्थिक रूपमा समृद्ध हुनुपर्यो र त्यसमा नागरिकको सहज अपनत्व हुनुपर्यो,” उहाँले भन्नुभयो ।
सहकारी अभियानमा देखिएको समस्याका आधारमा सहकारी मोडेल नै गलत भन्न नमिल्ने उहाँको धारणा थियो । उहाँले सहकारीका केही विकृति र समस्यालाई सम्बोधन गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्