शैक्षिक

स्थानीय र प्रहरीबीच झडप हुँदा तीन प्रहरी घाइते



पाल्पा, १९ भदौ । पाल्पाको रामपुरमा प्रहरी र स्थानीयवीच झडप हँुदा तीन जना प्रहरी घाइते भएका छन् । रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

स्थानीयको भिडको ढुङ्गा हानाहान र प्रहरीको लाठी चार्जबाट तीनजना प्रहरी जवान र केही व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ । प्रहरीका अनुसार झडपमा के कति व्यक्ति घाइते भए भन्ने एकिन विवरण नआएको बताइएको छ ।

हत्यामा संलग्न कपिलवस्तु हथौसा–२ मैरि बस्ने २९ वर्षीय कृष्णकमल चौधरीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै विरोधमा उत्रेका स्थानीय बासिन्दाले हत्यारा चौधरीको मोटरसाइकल इलाका प्रहरी कार्यालय, रामपुरको परिसरमा जलाइदिएका छन् ।

नेपाली काँग्रेस रामपुर नगरपालिका साविक २ नं वडाका पूर्व वडासचिव ओमबहादुर खाँणलाई शनिवार साँझ खाना खाएर घरको गल्लीमा बसेको बेला एक्कासी धारिलो हतियारले आक्रमण गरी घाइते बनाइएको थियो । धारिलो हतियारबाट घाइते भएका खाँणको उपचारका क्रममा रामपुर अस्पताल ल्याउने क्रममा शनिबार नै बाटोमा मृत्यु भएको थियो ।

धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका चौधरीलाई आज बिहान १० बजे रम्भा गाउँपालिका–१ हुँगी असेर्दीमा स्थानीयले फेला पारेपछि हुँगी प्रहरी चौकीलाई बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक रमेशराज पण्डितसहितको टोलीले हत्या भएको घटनाको अनुसन्धान गरेको छ । हत्याको आशंकामा घरबेटी गंगी थापा, उनकी बहिनी गुनकेशरी दर्लामी र हत्याका आरोपी कृष्णकमल चौधरीकी श्रीमतीलाई इलाका प्रहरी कार्यालय, रामपुरले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

हत्या के कसरी भयो भन्ने बारेमा अहिलेसम्म पूरा विवरण नआएको र यसको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राजु शर्माले जानकारी दिए ।

स्थानीय ज्ञानबहादुर दर्जीका अनुसार गएराति करिब ९ बजेर २० मिनेटको समयमा आफूले एक्कासी छिमेकीको घरमा हल्ला सुनेपछि तत्काल पुग्दा घटना घटिसकेको बताए । उनले प्रहरीलाई खबर गरी घटनाबारे जानकारी गराएको बताए ।

यसैगरी, ओमबहादुर खाँणको निर्ममतापूर्वक भएको हत्याको बिरोध गर्दै बेझाड बजार ब्यवस्थापन समिति, रामपुरले आज दिनभर बेझाड बजारका पसल, व्यापार व्यवसाय बन्द गरायो ।

खाँणको हत्याको बिरोधमा रामपुरका विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य विवरणसहित छिटोभन्दा छिटो दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।