काठमाडौँ, २३ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६६१ परियोजनालाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजनाको अन्तिम नाम सिफारिस गरेको हो । सिफारिसमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा २५ लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा वितरण गरिने छ ।
सिफारिसमा परेका परियोजनाले सम्बन्धित जिल्लामा रहेका राष्ट्रिय वाणिज्य बैङ्कमार्फत चार/पाँच दिनभित्रमा स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने छन् । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार यस वर्ष कर्जा प्राप्त गर्न पाँच हजार १५८ परियोजनाको प्रस्ताव परेको थियो । त्यसमध्ये प्रारम्भिक सूचीमा परेका एक हजार ३१४ परियोजनामध्ये तोकिएका मापदण्ड पूरा गरेका ६६१ वटा परियोजनालाई कर्जाका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।
सरकारले नवीनतम उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमा सहभागी गराउने उद्देश्यले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई समावेश गरेको छ ।
स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने उद्योगमा कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघुउद्योग, निर्माण सामग्री, वर्कसप, तयारी पोसाक तथा हस्तकला उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोटर्स तथा सङ्गीत, होस्टेल, खाद्य प्रशोधन रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्