काठमाडौं, २० भदौ । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि यातायात व्यवसायीले चासो दिएका छैनन् । सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घले गत असारबाट भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिंदै आएको छ । यातायात व्यवस्था विभाग र महासङ्घबीच भदौ २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो ।
उक्त सहमतिसँगै विभागले भाडा समायोजन गर्ने सहमति पनि भएको महासङ्घले जनाएको छ । विभागले भाडा समायोजनको निर्णय नगर्दासम्म टिकट खुला नगरिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए ।
व्यवसायीहरूका मागहरूप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष खनालले भने ‘चार वर्षदेखि भाडा समायोजन भएको छैन हामीले असारदेखि भाडा समायोजन गर्न भनिरहेको छौँ, वैज्ञानिक भाडादर बनाउ भनेका छौँ, विभागले भाडा निर्धारण समिति बनाएर काम गरिसकेको पनि छ तर किन निर्णय गर्दैन ?’ विभागले जति छिटो भाडा समायोजन गर्छ त्यतिनै छिटो अग्रिम बुकिङ खुला गरिने खनालको भनाइ छ । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्