राजनीति

कांग्रेसको बहुमत नभएकाले मिलेर सरकार बनाउनुको विकल्प छैन : सभापति देउवा



काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमिकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् । 

आज प्रजातान्त्रिक विचार समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको दोहोर्‍याए । 

अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमजोरी भए सुधार गर्दै अघि बढ्ने उनको भनाइ छ । उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन कठिन हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको प्रष्ट पारे । 

सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व सदनमा रहेको बताए । 

२०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका काम भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए ।