राजनीति

गणतन्त्रात्मक शासन प्रणालीबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ : देउवा



काठमाडौँ, १५ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् ।

आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् ।

सभापति देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससमेत व्यक्त गरे ।

उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा उच्च सम्मान प्रकट गरेका छन् । ‘नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनःस्थापना, लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी थुप्रै सन्ततिले अमूल्य जीवन उत्सर्ग गरेका छन्’, सभापति देउवाले अगाडि उल्लेख गरेका छन्, ‘तिनै ज्ञात–अज्ञात वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उहाँहरूको गौरवपूर्ण योगदान, अदम्य साहस, समर्पण र बलिदानको स्मरण गर्दै उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दछु ।’

आज १८ औँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।