समाचार

आज चिडियाखाना प्रवेश शुल्क ७५ रुपैयाँ मात्रै



काठमाडौँ, १८ जेठ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना आज बिहान ७ बजेदेखि नै खुलेको छ ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार रातो मच्छिन्द्रनाथको भोटोजात्रामा आएका दर्शनार्थीको सुविधालाई ख्याल गर्दै चिडियाखाना अरुबेलाभन्दा चाँडो खुलाइएको हो ।

आज चिडियाखाना प्रवेश शुल्क पनि ७५ रुपैयाँ मात्रै कायम गरिएको छ । अरु दिन चिडियाखानाको प्रवेश शुल्क ज्येष्ठ नागरिकका लागि ७५ रुपैयाँ, विद्यार्थीका लागि १३५ रुपैयाँ र अरु स्वदेशी नागरिकका लागि २ सय रुपैयाँ तोकिएको छ ।

मच्छिन्द्रनाथको दर्शन गर्नेहरु चिडियाखानाभित्र अवलोकनका साथै आराम र खानपिन गर्ने गर्छन् । आज चिडियाखानामा अरु दिनको तुलनामा दर्शनार्थीको घुइँचो धेरै हुने गर्छ ।

सामान्य दिनमा २ हजारदेखि २५ सय र शनिवारको दिन झन्डै ५–६ हजार जनाले चिडियाखाना अवलोकन गर्ने गर्छन् ।