राजनीति

एमाले निकट महासङ्घले दियो सरकारलाई आन्दोलनको चेतावनी



काठमाडौँ, १८ जेठ । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोके पनि सो धान तोकिएको मूल्यमा बिक्री नहुँदा किसान चिन्तित भएका छन् । 

सत्तारूढ नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घले यो विषयमा गम्भीर रूपले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समाधान  नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले तोकेको मूल्यमा बिक्री नहुँदा उत्पादन गरेको धान कुहिन थालेको गुनासो आइरहेको छ ।

महासङ्घका अध्यक्ष डा.प्रेम दंगालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकेको पनि हाल बजार मूल्य औसतमा प्रतिक्विन्टल १६२५ रुपैयाँ मात्र रहेको जनाएको छ । यो मूल्यमा समेत धान बिक्री नभई कुहिने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष दंगालले जसले गर्दा किसानहरू हतोत्साहित भएको बताएका छन् । 

किसान महासंघको आरोप छ—‘सरकारले समर्थन मूल्य त घोषणा गर्छ, तर सो मूल्यमा खरिद गर्ने व्यवस्था नगरेर किसानलाई बारम्बार झुक्याउने र हतोत्साहित बनाउने प्रवृत्ति दोहोर्‍याइरहेको छ ।’