राजनीति

सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित हैन : यातायातमन्त्री



काठमाडौँ, २० जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन्  ।  

आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री दाहालले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानून मार्फत व्यवस्थित गर्ने सहमति भए पनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका हुन् । उनले यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको स्पष्ट पारे । राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको उनले बताए । मन्त्री दाहालले सरकारसँग आफ्ना कुराहरू राख्दै जिम्मेवार भएर अघि बढ्न यातायात व्यवसायीलाई आग्रह समेत गरे । 

बैठकमा समिति सदस्यहरूले सिण्डिकेटलाई प्रोत्साहन गर्ने गरी कुनै सहमति नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।