भक्तपुर, २४ जेठ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संघको मध्यपुर थिमनी नगरपालिका वडा नं. ७ वडा कमिटीको आयोजनामा आज गरेको बृहत रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । जसमा ४२ जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका छन् । रगतको अभावले कुनै पनि नागरिकको अकालमा ज्यान गुमाउनु नपरोस् भनेर उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सेवा नै मानव धर्म हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सामाजिक उत्तरदायीत्व पुरा गर्नु संगठनको मूख्य जिम्मेवारी रहेकाले विगतमा झैं रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ ।
नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त बृहत रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा एमालेका स्थानीय कमिटीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
रासिव बाडेको अध्यक्षतामा भएको कार्यक्रममा संक्षिप्त कुरा राख्दै पूर्वमन्त्री बस्नेतले युवा संघ नेपाल देशकै सवैभन्दा बढी रक्तदान, वृक्षारोपण, खेलकुद लगायतका सामाजिक कार्यहरु गर्ने संगठन रहेको स्मरण गर्नुभयो । जहाँ समस्या आउँछ, त्यहाँ संघका नेता तथा कार्यकर्ताहरुको उपस्थितीले समस्या समाधान गर्ने गरेको उल्लेख गर्दै समाजलाई नविन विचार र दृष्टिकोणका आधारमा परिवर्तन गर्ने महत्वपूर्ण जिम्मेवारी संघका नेता तथा कार्यकर्ताहरुको काँधमा रहेको उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्