Banner News

आगामी वर्ष नेपाल प्रहरीतर्फकाे बजेटमा उल्लेख्य वृद्धि भएको छ : गृहमन्त्री लेखक



काठमाडौँ, ३० जेठ । गृहमन्त्री रमेश लेखकले आगामी वर्ष नेपाल प्रहरीतर्फकाे बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् ।

आज अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरेको बताए ।

उनले यसअघिका वर्षहरूमा ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको बताए ।

उनले भने, ‘यसपालि तुलनात्मक रूपले सुखद कुरा के छ भने आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको छ । उल्लेख्य भनेको धेरै बढी होइन, मुलुकको साधन र श्रोत तथा बजेटको स्थितिलाई हेर्दा तुलनात्मक रूपले राम्रो छ । यो भन्दा पहिला जम्माजम्मी ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुन्थ्यो । यसपालि तलब, पोसाक, रासन एकमुष्ट वर्षभरका लागि विनियोजन गरिएको छ । त्यसमा अब कुनै तनाव हुनेवाला छैन । उनले भने, ‘त्यसपछि थप केही श्रोत, साधनहरू जस्तो अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय होस् वा गाडीहरूका लागि ल एन्ड अर्डर मेण्टन गर्नका लागि शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुनेछैन । तर अब त्यसअनुरूप रिजल्ट पनि दिनुपर्छ ।’