Banner News

अहिलेको शासन र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस आवश्यक: सभामुख घिमिरे



काठमाडौँ, ३१ जेठ । सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन् ।

आज संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै सभामुख घिमिरेले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताएका हुन् । उनले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौँ । जनमुखी बनाउन सक्छौँ ? यो शासन प्रणालीमा आएका समस्या हुन् की निर्वाचन प्रणालीका दोषहरू हुन् । निर्वाचन प्रणालीका दोषहरू हुन् की निर्वाचन आचारसंहितासँग गाँसिएका कुराहरू हुन् ? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरूको भूमिकाको समस्या हो की ? बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरूमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरू चलिरहँदा हाम्रो छलफल खास गरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरूको बारेमा बढी विवेचना हुनुपर्छ । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामूलक ढङ्गबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढङ्गबाट कामहरू गर्ने विधि के हुनसक्छ ? यो नै आजको छलफलको विषय हो ।’