अर्थ

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का



काठमाडौँ, १ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको  खबर भएको बताए । 

मन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र विद्युत् क्षेत्र भएको बताए । “बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो”, उनले भने ।

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबिच गत वर्ष सम्झौता भएको थियो । आइतबारदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुने छ । 

उक्त विद्युत् बिक्रीबापत सरकारले पाँच महिनामा रु एक अर्ब २९ करोड आम्दानी गर्नेछ । उक्त सम्झौताबमोजिम निर्यात हुने विद्युत्को बिक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्रपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।

भारतमा पनि विद्युत् निर्यात निरन्तरता

नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ ।

जेठ १८ (जुन १) देखि एक सय ८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिबारदेखि सोही स्थानका लागि दुई सय मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । नेपाल र भारतबिच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको बिक्रीदर ५.२५ भारतीय रुपैयाँ प्रतियुनिट रहेको छ । 

त्यस्तै प्राधिकरणले गए राति १२ः०० बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफ्रपुर चार सय केभी र एक सय ३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिदबिक्री भइरहेको छ । वर्षायाम लागेसँगै नेपालमा विद्युत्को उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।